Saturday, July 8, 2017

आमाको कृष्णचरित्र



बाह्र वर्ष भयो दिदी भेट नभया
तम दिदी कति पुत छन
दिदी
तम दिदी कति पुत छन

पहिलीको पुत मेरो सूर्य कि ज्योती
मारदियो कनिस पापीले
बुदी
मारदियो कनिस पापीले

यो कथा नयाँ होइन
थुप्रै किताबमा लेखिएको छ
उनका सात छोरा कसरी मारिए भनेर
त्यो गल्लीमा हिंड्ने बच्चा बच्चालाई थाहा छ

तर कुनै किताबमा तिमीले पाउनेछैनौ
आमाको वेदनाको गीत
र आठौं सन्तानलाई बचाउनका लागि
बहिनीसंग मिलेर दिदीले गरेको उद्यम

आमाहरु जब गीत गाउन थाल्छन्
उनीहरुले गाउने रहेनछन्
राजा र गद्दिका कथा
युद्ध र वीरताका गाथा
उनीहरु गाउँछन्, आमाको वेदना
दिदीको विलाप बहिनीको रक्तश्राव
प्रेमिकाको इशारा र पत्नीको बुद्धिमता
एक अर्कालाई सम्हाल्ने र जीवन दान दिने महिला

तम पुत भया हम पाली दिउँला
हम कन्या मानाकी दिउँला
दिदी
हम कन्या मानाकी दिउँला

दुःख पोख्ने ठाउँ कतै नहुँदा
भित्र भित्रै कुँडिए पनि भो
अथवा
बाहिर पड्किएर जले पनि भयो
तर त्यो गरेनन् हाम्रा आमाहरुले
सबै वेदनाको उनीहरुले गीतै गाए।

माइतीको मायाबाट टाढा जान मन छैन छोरीलाई
तर उनी गाउँछिन् गीत राम र सीताको
र बताउँछिन्
एकैछिन् बसेर बाबालाई पुज्ने र आमालाई ढोग्ने ईच्छा

रामज्यूका रथ कसिया
सीता रानी, कतनी छ बेर?
सीता रानी, कतनी छ बेर?”

बुवाज्यूकी दियेली पुजन्छु
इजु माइ नी हुडी ढोग दिन्छु
इजु माइ नी हुडी ढोग दिन्छु

ज्ञानी बुद्धिमती छिन् आमा
तर कसेले सोध्दैन उनको ज्ञान र बुद्धि
चारैतिरबाट छेकिएकी बेरिएकी
आमा गाउँछिन् आफ्नै गीत
जहाँ छन् आमाहरु सम्मानित र पूजित
उनको गीतमा सीताले
सपना देखिन रे जंगलको
र वनवासको नाम सुन्नु भन्दा अघि नै
पाइन् भविष्यको आभास
थाहा पाइन कि सुखी देखिने उनको संसार
त्यती सुरक्षित छैन

आमा गीतमा नाम लिन्छिन् सुलोचनाको
र एकपटक रामायण पल्टाएर हेर्नै पर्यो मैले
को हुन यी पात्र भनेर
इन्द्रजीत भनिने रावणपुत्र मेघनादका दसौं नाम छन्
तर वाल्मिकीले उसकी पत्नीको नाम
एकपटक पनि लिनु उचित ठानेनन्।
हाम्रा आमाले मात्रै बचाएर राखेका छन्
झण्डै बिर्सिएकी सुलोचनाको कथा
जसकहाँ पतिको हात उडेर पुग्यो
र लेख्यो आफ्नै मृत्युको कहानी
र आलसतालस भएको लंकापति रावणले होइन
त्यसरी दिव्यदृष्टि झैं पाएकी सुलोचनाले
उद्धार गरेर गरिन् वीर पतीको सद्गति

उनीहरु गाउँछन् गीत यशोदाको
जसले दिइन् आफ्नी छोरीको बलिदान
सात छोरा गुमाएकी दिदीका लागि

तम पुत भया हम पाली दिउँला
हम कन्या मानाकी दिउँला
दिदी
हम कन्या मानाकी दिउँला
किताबले त भन्नेछन्
थाहै नपाइ जन्मेकी छोरीलाई
अर्काको छोरासंग साटेर लैजाँदा
यशोदा सुतिरहेकी थिइनः
अबोध, अनजान, अनभिज्ञ

किताबले यो पनि भन्नेछन्
कि देवकी जेलमा थिईन्
आठौं पुत्र गर्भमा हुँदा कसरी भेट्न सक्छिन्
बहिनी देवकीलाई नदी किनारमा?
कसरी रच्न सक्छिन् त्यत्रो षडयन्त्र?
  सात पुत थिया मेरा कनिसले हर्यो
आठौं पुत यो बोझा भार
बुदी
आठौं पुत यो बोझा भार
आठौं पुत्र बचाउनु त भगवानको लीला हो
र जे हुनु थियो त्यही भयो!
तर पनि आमाहरु त
बच्चाको ज्यान जोगाउने
दिदी र बहिनीकै गित गाउँछन्।
आफना मारने बिराना पालने
को होली बाबकी दिया
बुदी
को होली बाबकी दिया

आफना मारने बिराना पालने
म हुँलो बाबकी दिया
बुदी
म हुँलो बाबकी दिया

कसरी भेट भए दिदी बहिनी 
भनेर सोध्दा एउटी आमाले भनिनः
सपनामा होला कि?
दुइ बहिनी काँ होली भिट
दुइ बहिनी काँ होली भिट
खैरी भिट ताँ लै नहुली
खैरी भिट ताँ लै नहुली
(“केदारमा जाँत छैन यो साल, त्यहाँ भेट नहुने भो  दिदी
बुवाज्यूका घर सौतेनी आमा, त्यहाँ भेट नहुने भो दिदी
गंगा र जमुनाको जहाँ हुन्छ भेट,
त्यहीं भेटौंला बहिनी, त्यहीं भेटौंला “)

हो पक्कै,
आठौं पुत्र गर्भमा हुँदा
बन्दी बनेकी देवकी जान सक्दिनन् नदी किनारमा
गर्न सक्दिनन् बहिनी सामु विलाप
यो त सपनामा मात्रै हुन सक्छ।

कथामा पनि नारीको शक्ती
सपनामा र तर्कनामा नै भेटिंदो रहेछ
सीमानामा मात्रै बस्दो रहेछ

यी कथा किताबमा लेखिएका कथा झैं पुराना पनि हुन सक्छन्
र लेख्ने बेलामा लेखन्दासले तिनीहरुलाई नछानेको पनि हुन सक्छ
अथवा आफ्नो शक्ति र सामर्थ्यको ठाउँ 
आमाहरुले अन्त कतै नपाएपछि
उनीहरुले यी कथा पछि बनाएका पनि हुन सक्छन्

संसारले बोकाएका भारको विरोध गर्न
कसैले सम्मान नदिएपछि
आफ्नो मान अभिमान कायम राख्न
उनीहरुले बनाएका हुन सक्छन् देवी देवताको गीत
किनकी देवताको गित गाउनुमा केही दोष देखिंदैन
र आफूले आफ्नै आकृतिमा बनाएका देवताले दिन्छन् सधैं
जीवनमा आइलागेको जे सुकै सामना गर्ने शक्ति
र आफ्नो शक्तिको गीत दिनरात गाएपछि लाग्छ
आफूलाई मात्रै होइन सबैलाई पत्यार, त्यो शक्तिमा

हुन त कथामा पनि नारीको शक्ती
सपनामा र तर्कनामा नै भेटिंदो रहेछ
सीमानामा मात्रै बस्दो रहेछ

तर कलाले देखाउने धमिलो ऐनामा
पूर्ण समाज देख्नु छ भने
आमा दिदी बहिनी
पत्नी र प्रेमिकाको पनि कथा सुन्नु छ भने
त्यही सीमानामा नखोजी नहुने रहेछ)

यस्तो छ मेरो स्टोरीको एंगल
यो रिपोर्ट कसरी गर्ने होला बताइदिनुहोस् न!

No comments:

Post a Comment