Thursday, July 20, 2017

पूरा सपना

बाल्यकालमै भनौं एउटी केटीले
आँखाबाट झरेको परेली टिपेर
कलिलो मनको एउटै मात्रै
ईच्छाको भारी त्यसलाई बोकाएर
फू गरेर उडाइदिएकी थिई

आकांक्षाहरु भारी भएता पनि
उसको मन शायद चंगा थियो
र त्यो परेली उड्दै गएर
उसको अभिष्ट पूरा गरेरै छोड्यो

तर केटीलाई के थाहा
पूरा भएको एउटा लालसाले
उसको जिन्दगी अधुरो बनाउनेछ

किनकी त्यो उसको सपना मात्रै थिएन
दुइ हात जोडेर नतमस्तक भएर
उसले मागेकी थिइ एउटा वरदान
संसारका सबै शक्तिहरुसँग
र राखेकी थिई एउटा शर्त
यति पूरा भएमा जिन्दगीमा
अरु केही माग्ने छैन

उसलाई के थाहा जिन्दगीमा
त्यस्ता अभिलाषा त कति आउँछन्

कति त यति बलवान हुन्छन् नि
ती ईच्छा मात्रै भनिंदैनन्,
भाग्यरेखा झैं  बनेर उसलाई डोर्याउँछन् ।
कुनै अनजान समुद्रको आँधीले
उसलाई उचाालेर पछारिरहँदा
उ कामना गर्नेछे एउटा त्यान्द्रोको
जसलाई समातेर उ किनारा लाग्न सकोस्।

तर त्यो प्रबल जिजिविषालाई जोगाउन
अब उ माग्न सक्दिन कुनै शक्तिसँग केही

किनकी जिन्दगीको
आदि अन्त्य त्यसैलाई ठानेर
उसले आफ्नो पहिलो वरदान
मागिसकेकी छे
र पूरा भएको त्यही याचना नै
उसको अन्तिम हुनेछ

र अब उसले पुकारा गर्ने
कुनै देउता पनि त बाँकी छैन

No comments:

Post a Comment