Monday, May 6, 2019

मनका ऋतुहरु

हुन त एउटा ऋतुको समय दुई महिना मात्रै हो
तर यहाँ एक ऋतु वर्षौं छाइरहन सक्छ

शिशिरपछि वसन्त आउन एक युग लाग्न सक्छ
अथवा
शिशिरपछि वसन्त आउँछ नै भन्ने पनि त छैन

र हरेक दिन शिशिरको तुषारो बढ्दै जाँदा
तिमी झन् झन् छोपिँदै झन् झन् ढाकिँदै

कुहिरोको बीचमा हराउँदै
पल पल मृत्युतर्फ पाइला सार्दै

चारैतिर त्यसरी अन्धकार छाउँदा
तिमीलाई लाग्छ होला तिम्रो अन्त्य भए जस्तै

तर भनिन्छ
एउटा बीउलाई जमीनमा रोपिदिँदा पनि
त्यसको वरीपरी त्यस्तै अन्धकार छाउँछ रे
त्यो अंकुराएर त्यसमा पालुवा लागेर
फूल फूल्नु अगाडि
त्यसले कालो बाक्लो गहिरो
आफूभन्दा शक्तिशाली देखिने माटो
छिचोल्नै पर्छ रे

तिम्रो लामो हिउँदपछि
वसन्त आउँछ नै भन्ने त छैन

तर यहाँ वसन्तले
आउने बाटो भुलेको पनि होइन

शायद तिम्रो प्राण नै
निकै तल भासिएछ

No comments:

Post a Comment