Saturday, January 12, 2019

अविरल वर्षा


ती दिनहरु जब तिमीले
साँचेर राख्थ्यौ पलहरु

तिम्रो अन्तरआत्मालाई सुवासित बनाउने
एउटा न्यानो क्षण
वा तिम्रो शरीर काम्ने गरी अतालिने
डरलाग्दो घटना

साँचेका ती पलहरु तिमी दिनको अन्त्यमा
बाँड्थ्यौ कसैसँग जसले तिमीलाई बुझ्छ
र तिम्रो मनले चाहेको प्रतिकृया दिन्छ

वा तिमी लेख्थ्यौ लामा चिठीहरु
कथाभित्र कथाले भरिएका
किनकी तिम्रो मनलाई जेले छुन्छ
त्यो उनीसँग बाँड्न नपाएमा
तिमी बाँच्दै बाँच्दैन थियौ

ती दिनहरु सकिए
र ती मानिसहरु अब छैनन्

र घण्टौंको वर्षातपछि थकित धरती जस्तै
तिमीले पनि कुनै घटनालाई
आफूभित्र सोस्ने क्षमता गुमाइसकेकि छौ
वीर र श्रृंगार
हास्य र करुणा
विभत्स र अद्भूत
तिम्रो जीवनमा बर्सिन्छन्
र तिम्रो कतै राख्ने ठाउँ नहुँदा
तिमीमा एक रती पनि छाप नबसाइ
त्यसै बगेर जान्छन्

तिमी एक निमेष पनि
त्यसको अवलोकन गर्न रोकिन्नौ
र त्यसले तिमीमा केही परिवर्तन ल्याउँदैन

तिमी त ओहो पनि भन्न सक्दिनौ
र टाढैबाट हेर्छौ, तृष्णा र भाव शून्य

तर तिमीलाई थाहा छ
मनमा भावना भएसम्म मात्रै
तिमी जीवित छौ

No comments:

Post a Comment