Tuesday, January 22, 2019

तीस वर्ष

भनिन्छ तासमा जित्ने मान्छे प्रेममा हार्छ।

र सानैदेखि एक रुपैंया बोट राखेर तीनपत्ती खेल्दा समेत सयौं रुपैंया हात पार्ने मेरो सन्दर्भमा यो भनाई साँचो ठहरियो।

तर जीवनले मानिसलाई अनेक किसिमले कम्पेन्सेट गर्दोरहेछ, र मेरो जीवनमा त्यो कम्पेनसेसन कामको रुपमा आउँथ्यो। अर्थात तीस वर्षको उमेरमा अरु मानिसको जीवनको आउने घरायसी व्यस्तता मेरो जीवनमा कामको व्यस्तता बनेर आयो।

मलाई धेरै ठाउँबाट कामको प्रस्ताव आउँथ्यो, कतिपय सजिला, रमाइला वा पैसा कमाउन सकिने काम। यो देखेर मलाई खुशी नै लाग्थ्यो र जिन्दगीले मलाई जे दिएको छ त्यसको सदुपयोग गर्ने प्रयास गर्थें।

तर कतिपय कामका प्रस्ताव भने यती अजीबका हुन्थे कि जिन्दगीले मलाई किन ओभर कम्पेन्सेट गरिरहेछ भनेर म हैरान हुन्थें।

सोचेर ल्याउँदा यो प्रकृया म सानै हुँदा शुरु भएको रहेछ। दस कक्षामा पढ्दा मेरी मिल्ने साथीले भन्थिनः हामी पछि गएर वीमेन्स् म्यागजिन निकाल्नुपर्छ है। वीमेन्स् म्यागजीनहरु निकै रमाएर पढ्ने म पनि उनको सारमा सार मिलाएर भन्थेंः भैहाल्छ नि!

तर जीवनको त्यो प्रडक्टिभ मोडमा म लागें विदेशतिर र उनी लागिन् घरजम गर्न। झण्डै चार वर्ष पछि म फर्किँदा परिस्थिति बदलिसकेको थियो। बजारमा नारी मात्रै होइन वाउ र नव्यता लगायतका थुप्रै पत्रिका आइसकेका थिए। र मेरी साथी मसँग हल्का रिसाइन, समयमै पत्रिका निकालेको भए हामी यी सबै भन्दा अगाडि हुन्थ्यौं भनेर। तर खासमा मलाई लेख्न मात्रै मन लाग्थ्यो र पत्रिका चलाउने प्रशासनिक काममा पटक्कै रुची थिएन। र मैले लामो सास फेरेर यो आइडियालाई बिदा दिएँ।


त्यसपछि जागीर खोज्ने सिलसिलामा मलाई एउटा अचम्मको प्रस्ताव आयो जुन म र मेरा दिदीबहिनी अझैसम्म सम्झिन्छौं। एउटा नयाँ पायोनियर टाइपको न्यूज वेबसाइट खोल्ने जसमा समाचार मात्रै होइन विश्लेषण पनि होस्। यो वेबसाइट कस्तो हुन्छ भन्ने छलफल गर्न यो समूहलाई झण्डै हप्तैपिच्छे भेटियो। तर आखिरमा यो समूह कुनै निश्कर्षमा पुग्न सकेन र अहिले "एक पत्रकार एक अनलाइन"को समयमा समेत खासै निश्कर्षमा पुग्न सकेको जस्तो सुनिएन।

एउटा पत्रिकामा जागीर खान थालिसकेपछि एकदिन मलाई भेट्न एकजना मानिस आए। तपाईंको अंग्रेजी राम्रो छ रे। हामीसंग मिलेर अंग्रेजी तालीम दिनुहुन्छ? उनले सोधे।

अंग्रेजी राम्रो भए पनि म सिकाउन सक्दिन र पढाउन त मनै लाग्दैन भनेर मैले उनलाई बताएँ र अंग्रेजी सिकाउने संस्थामै जाने सल्लाह दिएँ। तर उनी भने नसुनेझैं गरी निकै हतारिएर भन्दैथिएः अंग्रेजी मात्रै होइन मान्छेहरुलाई व्यवहार पनि सिकाउन पर्यो। जस्तै विदेश जाँदा कस्तो व्यवहार गर्ने। कस्तो मान्छेलाई कसरी सम्बोधन गर्ने। कुटनीतिक प्रोटोकोल अनुसार कसलाई के भनेर बोलाउने.. यो सब कुराहरु कहाँ अंग्रेजी सिकाउने संस्थाले सिकाउँछ र?

मैले आत्तिएर भनेंः यो सब त मलाई पनि आउँदैन नि। तपाईं पूर्व कुटनीतिज्ञहरुलाई सोध्नोस्  न।

उनीहरुलाई झन् के आउला र? भनेर उनी मुख बिगार्दै गए। तिनको भेञ्चर कहाँ पुग्यो, त्यसको प्रगति पनि मलाई थाहा छैन।

र यसैगरी जागीर खाँदाखाँदै पनि तिम्रो जागीरले के पुग्ला र? यसको कुनै लङटर्म भविष्य छैन। बरु यस्तो काम गर न.... भनेर थुप्रै अफर आउँथे। एकजना विदेशी निकै नै हितैषी साथी हुनुहुन्थ्यो बुवाको। र वहाँले भन्नुभो छोरी, यो सब छोडिदेउ। लामो लिगेसी हुने काम गर। नेपालको विश्वविद्यालय र कोरियासँग सम्नवय गर्ने संस्था खोल। स्टुडेण्ट एक्स्चेञ्च प्रोगामहरु चलाउ र शिक्षक पनि साटफेर गर। कल्चरल  एक्स्चेञ्चको भविष्य राम्रो छ है!

व्यस्थापनमा फिटिक्कै रुची नभएकी म यो सुनेरै आत्तिइसकेकी थिएँ, त्यसमाथि उहाँले थप्नुभोः तर त्यसको लागि पहिले दुई वर्ष कोरियन भाषा सिकेर पोख्त होउ है!

नयाँ संस्था खोल्ने मात्रै होइन पुरानो संस्था बिउँताउने अफरको पनि कुनै कमी छैन। मनपर्ने लेखकहरुको एउटा समूह थियो, जसले निकै राम्रा रचना बेलाबेलामा निकालिरहन्थ्यो। यो समूह अहिले कहाँ गयो भनेर सामान्य खोजी गर्दा अचानक टिप्पणी आयोः तिमी आफूलाई बिरानो नठान न। यो तिम्रै समूह हो नि। भएजति मान्छेलाई भेला गर, हप्तामा एउटा छलफल गर र समूह अगाडि बढाउ!

त्यसबेला मलाई थाहा थिएन, यस्ता डिफंक्ट भएका संस्था र समूहलाई धेरै पछिसम्म पनि बिउँताउन मिल्छ। एकदिन एउटा कार्यक्रममा एकजना सुशील भद्र महिला भेट भइन् र आफ‍्नो कार्ड थमाइन्, कुनै हस्तकला संस्थाकी संस्थापक रहिछन् उनी। नेटवर्किङ गर्ने मौका यही हो भन्दै मैले पनि आफ्नो कार्ड दिएँ। म पत्रकार हुँ भन्ने थाहा पाएपछि उनले अझै विनम्र बन्दै भनिनः एकपटक मलाई भेट्न आउनुस् न, हामी संगै काम गर्न सक्छौं कि?

मैले सोचें उनले मलाई राइटिङ असान्मेण्ट दिन्छिन् होला, र त्यसरी फ्रिलान्स काम गर्न म सधैं उत्सुक रहन्छु।

भोलिपल्ट लामो र घुमाउरो बाटो तय गरेर उनलाई भेट्न गएँ। पाटनको एउटा शान्त गल्लीमा थुप्रै महिलालाई सहयोग गर्ने गरी उनीहरुका उत्पादनको सुन्दर शोकेस। मैले हेरिसकेपछि उनी भन्न थालिनः एउटा पत्रिका छ। अठार वर्ष अघि बन्द भइसकेको। मैले त्यसको राइट्स किनेकी छु। त्यसलाई रिभाइभ गर्न मन छ। हामी मिलेर गरौं। कला र संस्कृति सम्बन्धी पत्रकारिता गरौं।

र फेरी पनि सिंगै पत्रिका रिभाइभ गर्ने व्यवस्थापकीय काम गर्न म तयार थिइन। उनी डिभाइन लजिक लगाउन थालिन्। सबै कुराको एकअर्कासंग सम्बन्ध हुन्छ। यो ब्रह्माण्डमा कुनै पनि घटना केही न केही कारणले नै हुन्छ। त्यो कार्यक्रममा मैले अरु कसैसंग पनि बोलिन, तपाईंसंग मात्रै बोलें। यसको केही न केही कारण होला। यो भाग्यले जुराएको भेटघाट हो। हामी सँगै काम गर्नै पर्छ।

तर ब्रह्माण्डको उद्देश्य त्यो थियो भन्ने मलाई लागेन, र मैले बिदा मागें।

हुन त ब्रह्माण्ड अचम्म अचम्म तरिकाले काम गर्छ, र मलाई एकपटक मेक्सिकन टिभीमा काम गर्ने मौका पनि जुराएको थियो। भूकम्पको रिपोर्टिङ गर्न आएकी एक महिलाले मलाई तुरुन्तै रिक्रुट गरिन् र म पनि अचम्भित र उत्साहित भएर टिभी रिपोर्टिङ सिक्न थालें। ती महिला नेपालमै हुञ्जेल त केही समस्या थिएन, तर उनी गएपछि भने मलाई असाइन्मेण्ट एकदन र्याण्डमली आउँथ्यो। कहिले बिहानै, कहिले बेलुका र धेरैजसो तुरुन्तै गर भनेर। अरु बेला मैले कुरा गर्न खोज्दा वा पैसा कहिले पाउँछु भन्दा अगडमबगडम जवाफ पाउँथें, जस्तै किः अंग्रेजी बिहान जान्न मान्छे मान्छी सकिन्न सम्पर्क भरे प्रयास गरें। आखिर निकै पछि मैले थाहा पाएँ त्यहाँ अंग्रेजी जान्ने मानिस कम रहेछन् र स्पेनिसलाई गुगल ट्रान्स्लेट गरेर मसँग बोल्ने रहेछन्, र त्यसको व्याकरण सधैं बिग्रेको हुने रहेछ।

पैसा माग्दा बारम्बार त्यस्तै जवाफ आएपछि मैले अल्टिमेटम दिएँः पैसा नआइ अरु काम गर्दिन भनेर। गुगल ट्रान्स्लेटे उनीहरुलाई 'काम गर्दिन' मात्रै बताए जस्तो छ, र पैसा तिरेपछि उनीहरुले नयाँ काम लगाउन छोड‌े। शायद राम्रै भयो, सधैं गुगल ट्रान्स्लेटबाट संवाद सम्भव हुँदैनथ्यो।

र अजीबका अफर आउने क्रम अझ‍ै पनि जारी छ। भर्खरै मेरी एकजना साथीले मलाई कुकिङ/बुकिङ शो होस्ट गर्ने अफर गरेकी छिन्। अर्थात एउटा खाना पकाउने, एउटा बुक रिभ्यु गर्ने र त्यो सब भिडियो क्यामेरामा कैद गर्ने। मेरी साथीले यसमा पैसा पनि इन्भेष्ट गर्ने भएकी छिन्। तर यो शो कसले खिच्नेछ, कसले निर्देशन  गर्नेछ, कति लामो हुनेछ,कहाँ देखाइनेछ र यसबाट कसरी पैसा कमाइनेछ भन्ने निर्क्यौल भने भएको छैन। र म गम खाँदै छु। के यही हो मौका मैले जीवनका अचम्मका प्रस्तावहरुलाई स्वीकार गर्न थाल्ने?

No comments:

Post a Comment