Friday, March 22, 2019

सूर्यमुखी


सूर्यमुखीले सूर्यलाई  पर्खेझैं
निकैबेरदेखि पर्खिरहेछु
म तिमीलाई

सूर्यमुखीले सूर्यलाई पछ्याए झैं

जब म तिमीलाई देख्छु
म तिमीलाई मात्रै हेरिरहन्छु
तिमी अगाडि छैनौ भने
तिम्रो आवाज जता सुन्छु
त्यतै हेरिरहन्छु

हेर्न खोज्छु तिम्रो मुहार
चिन्न खोज्छु तिम्रा भावना

थाहा पाउन खोज्छु म
तिमी मुस्काइरहँदा तिम्रो 
निधार खुम्चिएको छ कि छैन
तिम्रो मुस्कान तिम्रो आँखासम्म
पुगेको छ कि छैन

तिमी मिठो स्वरमा बोलिरहँदा
तिम्रो स्वर अलि धेरै नै
मिठो त भएको छैन
तिमी तिम्रो अगाडिको
मानिसलाई नै हेर्दै छौ
वा तिम्रा नजर यता त्यता
दौडिरहेका छन्
कि आफैंभित्र
समेटिइरहेका छन्

हो सूर्यमुखीले सूर्यलाइ पछ्याए झैं
म चाहन्छु मात्र तिम्रो मुहार हेर्न

हो चन्द्रमाले पृथ्वीलाई घुमेझैं
म घुम्छु तिम्रै वरीपरी
चाहे तिमी जुनसुकै सूर्यको
परिक्रमा गर

जब कुनै साँझ
तिमी आउँछौ र मेरो जीवन
न्यानो बनाइदिन्छौ
थाहा हुन्छ मलाई
जीवनमा म खुशी हुन
मलाई अर्थोक केही चाहिँदैन

चाहिन्छ मात्र मेरो आत्मामा
तिम्रो न्यानो स्पर्श

तर मेरो सारा खुशी
तिम्रो सबथोक पनि त होइन

र तिमीलाई बाँधेर राखेर
 तिम्रो खुशिी खोस्न पनि त म चाहन्न

देख्छु तिमीलाई
तिमी खुशी छौ म बिना
र म चाहन्छु तिम्रो खुशी
आफ्नो भन्दा पनि बढी

जान दिन्छु तिमीलाई
तिमी खोज आफ्नो खुशी

तर जाँदाजाँदै तिमी त
धेरै टाढा गएछौ

तिमीले बोलाउँदा
मैले नसुन्ने ठाउँमा
मैले हेर्दा तिम्रा भावहरु
नचिन्ने ठाउँमा

No comments:

Post a Comment